रामचन्द्र श्रेष्ठ
शुरुवातमा डिस्केल्मरः— म भुसालको कार्यकर्ता पनि होइन, न त उहाँको नजिकको हुँ । राजनीति र समाजविज्ञानमा चासो राख्ने हुनाले भुसाललाई केही वर्षदेखि अध्ययन गरिरहेको छु । त्यसैले यो टिप्पणी व्यक्तिगत हिसाबले कुनै आग्रह, निकटता वा प्रेरणाबाट ग्रसित भएको नठानियोस् ।
— भुसालले पार्टी परित्याग गरेको सामाजिक सञ्जालबाट थाहा पाइयो । सामाजिक सञ्जालमा उनीमाथिका अनेकन टिप्पणीको भारी वर्षा भइरहेको छ । कोही उनका समर्थक छन् । कोही उनका विरोधी छन् । कोही शुभचिन्तक छन् । र कोही योजनाबद्ध लागिपरेका छन् । मलाई सबैभन्दा दुःख लागेको उनीमाथिको क्षुद्र टिप्पणीको हो । कुनै पनि व्यक्तिको आलोचना उसका विचार र कर्मको आधारमा गरिनुपर्छ । कुनै पनि व्यक्तिको मूल्यांकन कुनै क्षणिक समयावधिको सापेक्षमा होइन कि उसको सिंगो जीवनको आधारमा गरिनु पर्छ । अहिले एकथरी खुंखार एमालेजनहरुले उनको दोहलो काढ्ने प्रयत्न गरिरहेका छन् । यो उनीहरुको स्कुलिङको प्रतिफल हो । यस्तै टिप्पणी केही समयअघि विद्वान गोपीरमण उपाध्यायमाथि पनि भएको थियो । ती जसले असाध्यै क्षुद्र वचनमा टिप्पणी गरिरहेछन् उनीहरुले भुसालका कुनै पनि रचना गम्भीरतापूर्वक पढेकै छैनन् । खासमा ती असाध्यै सतही मान्छे हुन् । कतिपय विद्यार्थी राजनीतिमा लागेका साथीहरुबाट पनि त्यस्ता क्षुद्र टिप्पणी गरेको देखे । मेरो विनम्र आग्रह छ ती साथीहरुलाई कृपया एकपटक छातीमा हात राखेर आफैलाई प्रश्न गर्नुस्— के तपाईंले भुसालका लेखनी र अभिव्यक्तिलाई गहिरो गरी बुझ्नु भएको छ ? खासमा तपाईंहरुसँग त्यो बुझ्ने क्षमताकै अभाव छ । त्यसैले यस्तो क्षुद्रता त्यागौं ।
— भुसाललाई एकथरीले असफल कृषि मन्त्री भनेर पनि टिप्पणी गरेका छन् । मेरो विश्लेषण र टिप्पणी हो— उनी कु समयमा मन्त्री भए । खासमा भुसाल प्रयत्न गरिरहने मान्छे हुन् । उनलाई त्यो क्षणमा पनि केही सुधार गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो । तर, सत्ता र शक्तिको खेल साह्रै क्रुर हुन्छ । यो ‘रियल पोलिटिक’मा उनी चुके । मन्त्री भएपछि उनले भरमग्दुर प्रयत्न गरेका हुन् । उनीसँग मन्त्री भएको बेलामा एकपटक मात्र मेरो फोन सम्पर्क भएको थियो । उनलाई मैले प्रष्ट सोधेको थिएँ— मल किन आएन ? उनका केही विनम्र उत्तर थिएँ, कोरोनाकाल, लकडाउन, मजदुर अभाव आदि आदि । त्यसपछि उनले निकै ठूलो प्रयत्न गरे ‘जी टु जी’ मार्फत बंगलादेशबाट मल ल्याउने । यो प्रयत्नबारे आजसम्म कसैले पनि मुख खोलेकै छैन । यसको गहन अर्थ पनि थाहा छैन । ‘जी टु जी’ मार्फत् बंगलादेशबाट मल ल्याउनु भनेको नेपाल र बंगलादेशबीचको सम्बन्ध एउटा नयाँ उचाईमा उठाउनु हुन्थ्यो । कालान्तरमा यसले दक्षिण एसियामा नै नयाँ खालको सम्बन्धको बिजारोपण गर्थ्याे। बंगलादेश र नेपालको सम्बन्ध खाद्यान्न, काठ, विद्युत, मल, कपडाको लेनदेनमा हुँदै पछि कोलकत्तामा निर्भर हाम्रो पारवहनलाई बंगलादेशतर्फ मोड्थ्यो । मनमनै निकै आशावादी थिएँ म । अन्तर्राष्ट्रिय सम्बन्धका जानकार साथीहरुले भेनेजुयला र क्युवाको सम्बन्धको आयाममा विकसित हुने सम्भावना पनि देख्दैथिए । तर, यो कोशिसमा ब्रेक कस्ले लगायो ? तत्कालीन प्रम ओलीले होइन ? कसको पक्षमा ? कसको लागि ? भारतको लागि । भुसाललाई असफल कसले बनाएको हो ? ‘मल मन्त्री’को आरोप लगाउनुभन्दा पहिला यो पक्ष हजारपटक मनन गरौं ।
— केही मान्छेको गुनासो छ— टिकट नपाएर पार्टी छोडे । यो त साह्रै सतही विश्लेषण हो । पछिल्ला घटनाक्रमका शृंखला र त्यसको विकसित रुप नै ख्याल नगर्नु हो । ओली आजसम्म पनि संसद विघटनको आत्मालोचना गरेका छैनन् । आज गठबन्धनको सरकार छ । यो सरकारका कैयौं कामहरु आलोचना योग्य, भत्र्सना योग्य छ । खासमा त यो सरकार पुरै जनविरोधी देखिदै छ । तर, यो स्थितिमा पुर्याउने खेलको शुरु कस्ले गरेको हो ? संविधानमाथि आक्रमण गरेर अस्थीरताको विजारोपण गर्ने को हो ? भुसाल संविधानको रक्षाको लागि संघर्ष गरे । तर उनी पार्टी फुटका विरोधी थिए । उनी पार्टीभित्र बसेर संघर्ष गरिरहे । अपमान झेलिरहे । भुसालले अहिलेसम्म पार्टी परित्याग नगरेर वा टिकटको आश गरेर एकपटक सिर्जना भएका सुन्दर अवसरहरू गुमाए । खासमा आफूप्रति अगाध आस्था राख्ने कार्यकर्तालाई नै दोबाटोमा छोड्ने गल्ती गरे जसले अर्को अवसरवादितालाई स्थान दिइरह्यो।
आन्तरिक लोकतन्त्र विहिन पार्टीभित्र उनको प्रयास बालुवामा पानी खनाउनु सरह थियो । पञ्चायत कालको जस्तो पार्टी होइन यो । यो त दलाल पुँजीपति वर्गले हाइज्याक गरेको पार्टी हो । पार्टीका बुद्धिजीवी भनाउँदाहरु कोही पनि भुसालले चाहेको बहस, अध्ययन र कार्यक्रमको खोजीमा लागेनन् । अन्तिममा केपी ओली भुसालबाट घुँडा टेकेर माफी चाहन्थे । भुसालले माफी माग्ने कुरै थिएन ।
तथ्य भुसालले पार्टी छोडेका होइनन्, उनलाई धकेलिएको हो ।
अब भुसालले उम्मेदवारी घोषणा गर्नुपर्छ । कम्तीमा संसदीय चुनावमा भाग लिएर चुनावी कार्यक्रममार्फत उनी जनतामाझ पुग्नुपर्छ । अहिलेलाई नयाँ कदम त्यहीं हुनेछ । यसपछि उनी वामपन्थी आन्दोलनलाई नयाँ शिराबाट उठाउने कठिनाईको बाटो हिंड्न तयार हुनुपर्छ । त्यसका लागि आफ्ना पूर्ववत मान्यतामाथि पनि प्रश्न गर्न तयार हुनुपर्छ । अहिलेलाई नयाँ बाटोमा उनलाई स्वागत छ । हिम्मत नहार्नु भुसाल कमरेड । लड्नु अझै छ ।
Comments
Post a Comment