लक्ष्मण श्रेष्ठ |
ये दौलत भी ले लो, ये सुरथ भी ले लो भले छिन लो मुझसे मेरी जवानी
मगर मुझको लौटादो बचपनका सावन वो कागजकी कस्ती वो बारिसकी पानी
(यो दौलत पनि लैजाउ, यो सम्मान पनि लैजाउ, बरु खोसिदेउ मबाट मेरो जवानी
तर फकाईदेउ मलाई सानैको साउन त्यो कागजको डुंगा त्यो बर्खाको पानी)
जगजित र चित्राको भरिलो स्वरले गुञ्जायमान छ कोठा। बाहिर
बिस्तारै मनसुनी मौसमको शुरुवाती वर्षा बर्सिदैछ। धनी देशहरूले गरेको कार्बन
उत्सर्जनले दिएको लामो खडेरीसँगै आएका घमौराहरू पनि यो झरीसँगै ओइलाउन थालेका छन्।
झरीसँगै मन पनि ओसिन थालेको छ। ओसिलो मन उडिदिन्छ कता–कता। सम्झनाका सिरेटो चल्न थाल्छ। सम्झना
त चुईङ्गम जस्तै मस्तिष्कको सतहमा टाँसिएर बसेको हुँदोरै’छ। जति निकाल्न खोज्यो तन्किन्छ मात्र।
अंग्रेजीमा भनाई छ, ‘म्यान डजन्ट रिमेम्बर डेज इट् रिमेम्बर अन्ली ममेन्ट्स’
(मान्छेहरू दिनहरू
होइन क्षणहरू सम्झन्छन्)। आज पनि त्यस्तै भईरहेछ। पुराना क्षणहरू सम्झना बनेर
तन्किरहेछन्।
तिमी आवाज बनेर आउँथ्यौ हाम्रो घरको छानामा ठोकिन। टिनले छाएको थियो हाम्रो
तीनतले बुढो घर। हाम्रो पढ्ने र सुत्ने कोठा सबैभन्दा माथिल्लो तलामा। तिमी आउन
थालेपछि तिम्रै आवाजले थिच्थ्यो।अरूकोही बोलेको सुनिदैनथ्यो। हामी निस्फिक्री,
झ्यालबाट संसार
नियाल्न थाल्थ्यौं। खापा भएको तर बार नभएको झ्यालबाट।
ए झरी ! तिमी त उसैगरी बर्सिन्छौ होला अझैपनि। तर के तिम्रो आगमनसँगै गाइन्छन् होला र गीतहरू उसैगरी ? यो शहरमा पनि परिरहेछ झरी उसैगरी।
सुनार्नी आमैको खरले छाएको छानामा तिमी एउटा गज्जबको दृश्य बनेर आउँथ्यौ। माथिल्लो तलाको झ्यालबाट हेर्दा कस्तो–कस्तो कोलाज जस्तो। पानीले भिजेको खर पहेंलोजस्तो रंगीन हुन्थ्यो। चित्रकारले कोरेको चित्रजस्तो। पानी छानाभरी भरिन्थ्यो। उफ्रिन्थ्यो। जिम्न्याष्टिक हानेपछि आँगनमा पोखिन्थ्यो। पशुपति दाईको टिनको छानामा पानी आगोको रापजस्तै देखिन्थ्यो। बाटोभरि बगेको भल त खोला नै हुन्थ्यो बाबै ! अनि छाता, प्लाष्टिक र सेउ ओढेर हिंडेका मान्छेहरू। पारीको कमानसिंह काकाको घर भएको डाँडा, त्यसको छेउमै प्रहरी ठानाको सेन्ट्री पोष्ट, अझ परको खसर्काको डाँडा। पानी पर्दा त दृश्य नै फरक हुन्थ्यो।
झरी ! ए झरी !! के तिमी अझै पनि बर्सिन्छौ उसैगरी ?
घरको दोस्रो तलाबाट भुँईमा झर्दैगर्दा आँखै अगाडी आउँथ्यो कैलाशेको अग्लो
डाँडा। जब मनसुन शुरु हुन्थ्यो हामीसँग लुकामारी खेल्थ्यो ऊ। कुहिरोको पर्दा पछाडी
लुक्दा त कस्तो कस्तो देखिन्थ्यो। गम्भिर, धैर्यवान र रहस्यजस्तो। जहिल्यै एउटा आकांक्षा हुन्थ्यो। त्यो डाँडाको
टुप्पोमा पुगुँ कसैगरी। अनि छोइदिउँ बादललाई। चिच्याइदिउँ जोडले। त्यहाँबाट
बोलाएको यहाँ आमाले सुन्नुहुन्छ होला कि नाहिं ? उफ् ! केटाकेटी बुद्धि नी। मनसुनको आखिरी
वर्षापछि तिमी नयाँ बनेर आउँथ्यौ कैलाशेको डाँडा। तिमीलाई थाहा छ ?
हरियो सारी लगाएको
तिम्रो त्यो रूप अझै पनि यहाँ आँखामा टाँसेर हिंडिरहेछ एकजना। सायद अरू धेरैजना
पनि।
गाउँ हेरिबसेको कैलाशे डाँडा। अझै उस्तै। |
हामी केटाकेटी।बर्खेबिदा हाम्रो निम्ति औधी रमाइलो हुने। स्कूल
जानुपरेन। होमवर्क त स्कुल चल्दा पनि गर्नुनपर्ने। फुटबलका सौखिन। आफूलाई त ‘पेले’ र ‘म्याराडोना’ नै ठान्थ्यौं। वर्खाको पानीले डम्म भुँडी फुलाएको दहको छेउमा,
स्कुल पछाडिको चौरमा
हाम्रो फुटबल म्याच चल्थ्यो।बर्खे म्याच। विश्वकप भन्दा कप ठान्दैनथ्यौं हामी। चार
जना भएपछि म्याच शुरु भइहाल्थ्यो। पाईलाको नापले बनेको गोलपोष्टको
लम्बाई र गोलकिपरको उचाईभन्दा एक हातको माथिको उचाईमा फुटबलका विश्वव्यापी नियमहरू
हावा खान्थे। तर हामी भने हिलोपानीमा पछारिंदै हान्थ्यौं गोल। म्याच सकेर फर्कंदा
हामी मान्छे कम हिलो ज्यादा हुन्थ्यौं।
फुटबल त त्यति नै बेला हो फुटेको, च्यातिएको। हिलो पनि पँधेराको पानीमै हो पखालेको। ओ ! हाम्रो फुटबल ग्राउण्ड
तिमी त अझै उस्तै छौ होला। के तिम्रो छातीमा अझैपनि गोल ठोक्छन् गाउँका केटाहरू?
मोबाईलका थरी–थरीका डिजाइन,
ब्लुटुथबाट फैलिने
अनेकथरीका भिडियो र व्यस्त बुढीऔंलाहरू........। यो शहरमा सम्झिरहन्छु म कति एक्लो
होला त्यो फुटबल ग्राउण्ड ?!
बर्खामा डम्म भुँडी फुलाइ बस्ने ठाडा दह। उहिले बैंसका रूख हुन्थे। बिस्तारै मासिए। |
झरीको मजा बेग्लै हुन्छ। अझ मजा हुन्छ झमझम पानी परेको बेला किताबको पानामा टाउको घोप्टो पारेर डुबिरहनु। गाउँमा एउटै फोन थियो त्यतिबेला। पिसीओ भनेर चिन्थ्यौं हामी। पिसीओको त्यहीं अफिसमा कुनचाहिं संस्थाले हो कुन्नि एक दराज किताब राखेर पुस्तकालय खोलिदिएको थियो। दस रुप्पे तिरेपछि सदस्य बन्न पाईने। किताब पढ्ने गाउँमा कति पो हुन्थे र ? किताब यति–उती प्रति भनेर सिमा नै नहुने। हामी थियौं किताबका भोका। यति उती होइन बोक्न सक्ने जति लिएर आउँथ्यौं हामी। किताब पनि थरीथरीका। के–के हो के–के ? कमिलाको कथा, बामपुड्केको देश, एक्लो बालक, एसियाली लोककथाहरू.........।
|
मनमा बसेकाे किताब |
बर्खे विदापछि स्कुल जानु पनि कम रमाइलो हुन्थ्यो र ?
पानी परेपछि कक्षा
नहुने। टिन बजेर अरू बोलेको पनि नसुनिने। हामी बोलेको पनि नसुन्ने। अन्ताक्षरी
खेल्थ्यौं हामी। केटाहरू एकतिर, केटीहरू अर्कोतिर। अमराईकी देवीले घोप्टो परेर डेस्कमुनि टाउको लुकाउँदै यम
बरालको निष्ठुरीले छोडेर भन्ने गीत गाउँदा त हावा पनि टक्क अडिएर मग्न भएर
सुन्थ्यो। अनि खोला पारी कैलाशेकी खिमा पनि के कम ? ‘उडेर जुन छुन्छु भन्थे’
भन्ने गीत गाउँदा
आकाश पनि रुन्थ्यो। स्कुलको टिनमा अझ जोडले तबला बज्थ्यो। केटाहरू भने जातैले
हुल्याहा। गीत पनि त्यस्तै। नेपथ्य ब्यान्डको ‘रेशम’ गाउँदा स्कुल थर्किन्थ्यो–
स्कुल ! मनसुन आउँछ। झरीका थोपाहरू लहरहरू बोकेर
ल्याउँछ। पानी र सम्झनाको लहर। अनि मन बतासिन्छ। उडिजान्छ। मेरा प्यारा स्कुले
साथीहरू के तिमीहरू अझैपनि उस्तै गरी गाउँछौ गीतहरू?
एकपटक त कहिले हो।बर्खे बिदापछि परीक्षा परेको थियो –
त्रैसमासिक परीक्षा।
सात कक्षामा पढ्थ्यौं हामी त्यतिबेला। संस्कृत पढ्नुपर्ने। हामीलाई संस्कृतको ‘स’ पनि नआउने। त्यहिं संस्कृतको परिक्षाको दिन। झमझम पानी परिरहेको। बुढा मास्टर
हाम्रो कोठामा गार्ड परेका। जाडो भयो– जाडो भयो भन्दै कुनामा निदाईहाले। मौका पर्यो हामीलाई। हतार हतार सर्टले
ढाकेर राखेको संस्कृतको किताब निकालेर कमा पनि नछोडी सार्न थाल्यौं हामी। तिमीलाई
सम्झना छ आकाश भनेर हामीले बोलाउने रामकृष्ण ? हेडसर आउँदा आत्तिएर किताब लुकाउन खोज्दा
कसरी किताब पानीमा खसेको थियो। त्यतिबेला टिनबाट पानी चुहिएर स्कुलको भुँई त दह नै
बन्थ्यो।
स्कुल अहिले फेरिएको छ, उतिबेला त एकतले थियो, चुनले रंग्याएको सेतो। टिनले छाएको। समय पनि त फेरियो, हामी पनि। |
मनसुनी महिना बर्खे क्षण। सम्झनाका भलहरू बगिदिन्छन्।यिनै भलसँगसँगै बगिदिन्छ
मेरो मन पनि। लुछुप्पै भिजिदिन्छ मेरो मनसुनी मन। पानीका कणहरू
बोकेको चिसो बताससँगै बतासिन्छ कहाँ कहाँ।
(२०६९ असार १६ शनिबार लुम्बिनी दैनिकको
पाहुरमा प्रकाशित)
Comments
Post a Comment