बोल 'नागरिक समाज' बोल

भलाकुसारी टीमकाे अपील

यी नागरिककाे पक्षमा बाेल्ने नागरिक समाज खाेइ ?


कोभिड सिर्जित महामारीको अर्को विषम चरणमा प्रवेश गर्दै गरेको भान भइरहेको छ । हिउँद शुरु हुँदै गर्नु र चिसामा श्वासप्रश्वासका बिरामीको संख्या बढ्ने कारणले पनि कोभिडबाट संक्रमित हुने र मृत्यु दर बढ्ने आशंकायुक्त अनुमान गरिएको छ । 

पूँजीवादी समाजको सामान्य जीवनमा अर्थतन्त्रको ‘नदेखिने हात’कै भरमा मानिसहरुको जिन्दगी गुज्रिरहेको हुन्छ । सरुवा तथा दीर्घकालीन रोगका कारण, पोषण र स्वस्थ खानाको अभावका कारण वा अस्पतालमा पहुँचको कमीका कारण यसै पनि गरीब मानिसहरुको मृत्यु भइरहेको हुन्छ । जुन पूँजीवादी समाजको चरित्र नै हो । तथापी, महामारीको समयमा पूँजीवादी समाजको सामान्य दैनिकीमा पनि भद्रगोल आउँदोरहेछ । यस्तो विषम परिस्थितिमा मानिसहरुले राज्यको मूख ताक्दा रहेछन् । आफूले भोट दिएर बनाएको सरकारतर्फ आशाको नजर तेर्स्याउँदा रहेछन् । नागरिक हुनुको बोध कर्तव्य पालनाले मात्र हुँदैन, अधिकारको माग र दाबीले हुन्छ । महामारीको समयमा नागरिक हुनुको बोधको खोजी पनि तीव्र हुँदोरहेछ । तर नेपाली नागरिक समाज मौनताको बाक्लो च्यादर ओडेर सुतेको छ । 

राज्य दिनप्रतिदिन जनविश्वास गुमाउँदै गईरहेको छ । बन्दाबन्दीको उचित व्यवस्थापन गर्न नसक्नु, आप्रवासी मजदूरलाई घर फर्कने बन्दोबस्त समयमा गर्न नसक्नु, पीसीआर परीक्षणलाई तीव्रता नदिनु, स्वास्थ्य सामग्रीहरुको खरीदमा व्यापक घोटाला हुनु र भ्रष्टाचार गनाउनुले सरकारको छवि धुमिल भईसकेको थियो । कार्यपालिका र न्यायपालिकाको आपसी खिचातानीको कारण पनि कर उठाउनैको लागि बिना पूर्व तयारी हतारमा बन्दाबन्दी हटाइयो । त्यसपछि कोभिड संक्रमितको ग्राफ उकालो लाग्न थाल्यो । जनस्वास्थ्यबाट टाढिदै गएको सरकार कोभिड महामारीलाई व्यवस्थापन गर्न चुक्दै गयो । दक्ष जनशक्ति र स्रोत साधनको अभावले भन्दा पनि जनस्वास्थ्यमा राज्यको भूमिकाबारे प्रष्ट धारणाको अभावकै कारण आजको दिन आएको हो । कात्तिक २ देखि सरकारले औपचारिक रुपमा नै हात झिकेको घोषणा गर्यो । 

अब नेपाली जनतासँग कोभिडलाई व्यक्तिगत तवरले झेल्ने वा बिना उपचार मर्नुको विकल्प नरहेको अवस्था आइसकेको छ । अब उपचार पहुँच र हैसियतमा सीमित हुँदैछ । साधारण मान्छे कोभिडलाई आफ्नो प्रतिरक्षा प्रणालीको बलमा मात्र सामना गर्ने हालतमा पुगेका छन् । 

जनताको अमूल्य भोट र शहीदको बलिदानले निर्मित ‘लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्य’ के गर्दैछ ? संघीयतालाई सीधा वा घुमाउरो तरिकाले असफल पार्ने प्रयत्नमा छ । सत्तासीन पार्टीको स्वार्थ संघर्षको नौटंकी मञ्चन गर्न व्यस्त छ । नेपाली जनता बैंक, सहकारी वा साहुहरुको ऋणमा डुबेका छन् । आर्थिक कारोबार ठप्प भएको बेलाको ब्याज मिनाहा गरेर जनतालाई राहत दिनुको साटो विदेशी ऋण लिन व्यस्त छ । पत्रकारदेखि निजी विद्यालयका शिक्षकहरुले तलब पाएका छैनन् । अनौपचारिक क्षेत्रका मजदूरहरुको अवस्था झनै दयनीय छ । औपचारिक नै सही, जनताको आवाज अभिव्यक्त हुने संसद स्थगित छ, सांसद भ्याकेसनमा छन् । जता हेर्यो अस्तव्यस्त छ । सरकार मस्त छ । सरकारका पिछलग्गु केही भाटहरु सुमुधुर भजनको तालमा झुमेका छन् । शायद नेपाली इतिहासको क्रुरतम र घृणित समय भोग्दैछौ हामी । 

यस्तो अप्ठ्यारो समयमा इतिहास लामो राजतन्त्र ढाल्न बनेकाे नागरिक समाज मौन छ । नागरिक समाजका अगुवा भनेर चिनिनेहरु सामाजिक सञ्जालमा रोष प्रकट गरेर मनशान्ति गरिरहेछन् । के नेपाली नागरिक समाजको विरासत अब इतिहासको गर्तमा बिलिन भईसकेको हो ? वा दलतन्त्रको माखेसाङलोमा पद, पैसा, प्रतिष्ठाको गुलियो मोहमा अभिशप्त भईसकेको हो ? इतिहासले नागरिक समाजलाई प्रश्न गरिरहेछ । 

वर्तमान कुटील समयमा नागरिक समाजले सरकारलाई जनस्वास्थ्य र सबल अर्थतन्त्रको निम्ति सकारात्मक कदम चाल्न बाध्य गराउन सकेन भने लोकतन्त्रको आयु घट्दै जान्छ । लोकतन्त्रको क्षयीकरणमा कि त उन्नत व्यवस्थाको निम्ति क्रान्ति हुन्छ, कि त प्रतिक्रान्ति हुन्छ । क्रान्तिको संभावना निकट भविष्यमा मधुरो भएकोले प्रतिक्रान्तिको डरलाग्दो बादल हाम्रै शीरमाथि मडारिरहेको छ । नेपालमा नेपोलियन, हिटलर, ट्रम्प वा मोदी अहिले विद्यमान पार्टीबाटै उदाउने खतरा पनि उत्तिकै छ । फंग्सनलेस हुँदै गएकाे नेपाली राज्य असफल राज्य तर्फ अग्रसर हुने सम्भावना पनि उत्तिकै छ । समय साँच्चै जटिल माेडमा छ ।

लौ न, यो मौनताको च्यादर मिल्काएर उठ्ने बेला भएन र ? उठ नागरिक समाज उठ । बोल नागरिक समाज बोल । 


x

Comments