रामचन्द्र श्रेष्ठ
स्केचः गुगलबाट |
आधुनिकतालाई पोषाक र गहना, शृंगार र सवारीसाधनबाट थोरै अलग भएर हेर्ने हो भने पुरानोबाट नयाँ, अवैज्ञानिकबाट वैज्ञानिक, अतार्किकबाट तार्किक, अमुर्तबाट मुर्त जीवनशैली हो ।
तीज सकियो । यसपटक तीजको नियमित कर्म, रमाइलोसँगै अनेक बहसहरु देखापरे । कतिपय विषयहरु निकै गहन थिए भने केही सतहमा देखापरेका बाछिटा जस्ता थिए । सामाजिक सञ्जाल, चियागफ र सामुहिक भेटहरुमा यस्ता विषयहरुबारे अनेकन बहसहरु भएको सुनियो । सार्वजनिक वृत्त यस्ता विषयले नै भरिए ।
आधुनिकता के हो ?
एउटा सामुहिक जमघटमा आधुनिकताबारे बहस उठ्यो । तीजको सन्दर्भलाई लिएर गरिएको यो अनौपचारिक बहसले निकै सघन अध्ययन र विश्लेषणको माग गरेको छ । केलाई आधुनिकता भन्ने ? केलाई परम्परा भन्ने ? के आधुनिकता भनेको फेसन, शृंगार र अटोमोबाइलको प्रयोग मात्र हो ? के फेसनको लुगा लगाउँदैमा, स्कुटी, बाइक हाँक्दैमा आधुनिक भइन्छ ? वा परम्परा, संस्कार छोड्दैमा आधुनिक भइन्छ ? परम्परा कतिसम्म मान्नुपर्छ ? कति छोड्नुपर्छ ?
आधुनिकता (चलनचल्तीको भाषामा मोर्डन हुनु)लाई हामीले आफ्ना अनुभवका आधारमा बोध गरेका छौ । सामाजिक शास्त्रमा यसका अनेकन परिभाषा छन् र तिनमा एकरुपता छैन । यहाँ म सामाजिक शास्त्रका सिद्धान्तमा केन्द्रीत हुँदैछैन ।
कोही कसरी बोध गर्छ ? कोही कसरी महसुस गर्छ ? कोही कुनै विषयलाई कसरी परिभाषित गर्छ ? यसको पछाडि उसमा विद्यमान पुर्वस्थापित मान्यता, अध्ययन, संगत र दृष्टिकोणको भूमिका हुन्छ । आधुनिकताको बोधमा पनि यहीं प्रक्रिया हुन्छ ।
— ती युवती जो स्वआर्जन गर्छिन्, स्कुटी हाँक्छिन्, फेसनका लुगा लगाउँछिन् तर राम्रो वरको खोजीमा व्रत बस्छिन्, महिनावारी कठोरतापूर्वक बार्छिन्, ती आधुनिक हुन् कि होइनिन् ?
— ती युवक जो सहकर्मी महिला साथीसँग रेष्टुराँमा वाइन, बियर सेयर गर्छन, उदार महिला मन पर्ने गफ दिन्छन् तर ‘संस्कारी’ ‘श्रीमती’को खोजीमा छन्, ती आधुनिक हुन् कि होइनन् ?
अहिले सार्वजनिक वृत्तमा हस्तक्षेप गरिरहेको पुस्ता पचासको दशकदेखि उदाएको पुस्ता हो । यसको विस्तार साठीको दशकमा भयो । यो पुस्ता निकै छोटो अवधिमा निकै ठूला परिवर्तनका साक्षी भएको पुस्ता हो । यसले रिलवाला क्यासेट, ब्याट्रीको भरमा रेडियो, टुकी, लालटिनदेखि विद्युत, फ्लपी डिस्क, सीडि र मेमोरी कार्ड हुँदै वाइफाईको संसार भोगेको छ । यसले आवासेटदेखि अत्याधुनिक मोबाइल फोनको अनुभव गरिरहेको छ । यसले गाउँघरको लोक दोहोरी, रोदीको परम्परादेखि लाइभ म्युजिक र डान्सबार भोगिरहेको छ । राजनीतिक क्षेत्रमा संसदीय प्रजातन्त्र, राजपरिवारको संहार, राजाको प्रत्यक्ष शासन, द्वन्द्व, आन्दोलन, गणतन्त्र, संघीयता भोगेको छ । यो पुस्ता न त आफुभन्दा पुराना पुस्ताको अनुभवसँग निकट छ, न त नयाँ पुस्ताको अनुभवसँग पूर्णत घुलनशील छ । संक्रमणकाे गहिरो अनुभुति बोेकेको यो पुस्ताको आधुनिकता बोधले समाजको चित्र प्रष्ट्याउँछ ।
आधुनिकतालाई पोषाक र गहना, शृंगार र सवारीसाधनबाट थोरै अलग भएर हेर्ने हो भने पुरानोबाट नयाँ, अवैज्ञानिकबाट वैज्ञानिक, अतार्किकबाट तार्किक, अमुर्तबाट मुर्त जीवनशैली हो । त्यसैले आज हामीले बोध गरिरहेको आधुनिकताको नाभीमा एकातर्फ संसारभर बलशाली बनिरहेको बजार अर्थतन्त्र छ भने अर्कोतर्फ हाम्रा भत्कदै गईरहेका मान्यताहरुको द्वन्द्व छ ।
बजार अर्थतन्त्रले हामीलाई एक्लो हुन सिकाईरहेको छ । यसले उदार स्वभावलाई अंगिकार गर्न बल प्रदान गरिरहेको छ । उसो त उदार अर्थतन्त्रको आँखामा हरेक मान्छे नितान्त एक्लो जीव हो । उसको निर्णयको अधिकार नितान्त उसको हो । यसले एकातर्फ मान्छेलाई परम्परागत मान्यताहरु भत्काउन साथ दिइरहेको छ भने अर्कोतर्फ बजार अर्थतन्त्रलाई आवश्यक ग्राहकदेखि मजदुर उपलब्ध गराइरहेको छ ।
बजार र संस्कृतिको बेमेल साइनो गाँसिएको यो बेला आधुनिकता न त पूर्णतया नयाँपन हो न त पूर्णतया परम्परा हो । यसले तीज पनि मनाएकै छ । कृष्णजन्माष्टमी पनि मनाएकै छ । क्रिसमस पनि मनाएकै छ । भ्यालेण्टाइनमा पनि रमाएकै छ । यी सबैको लागि बजारले आकर्षक सामानहरु उपलब्ध गराएकै छ ।
सुपरमार्केटले क्रिसमसको अवसरमा क्रिसमस ट्री पनि सजाएकै हुन्छ । आमाको मुख हेर्ने दिनको लागि आमाको लागि उपहारको आकर्षक सामान पनि तयार गरेकै हुन्छ ।
यदि कसैले गरगहना विहिन महिलाको प्रशंसीत तस्वीरमा साडी कति मूल्यको भन्ने प्रश्न उठायो भने वा उनी सवार हुने साधनको मुल्य सोध्यो भने ?
अहिलेको हाम्रो पुस्ता बजार र संस्कृतिको यहीं साइनाको जालोमा हुर्किरहेको हो । त्यसैले आधुनिकता हाम्रो निम्ति भ्रम बनिरहेको छ । आधुनिकताबारे हाम्रो बोधको यो अमुर्तता (जुन म आफै माथि लेखिरहेको छु) संक्रमणकाे जटिलताको उपज हो ।
आधुनिकताको यो अमुर्त गाँठो फुकाउने प्रयत्न सामाजिक शास्त्रका विद्यार्थीले कम्मर कसेर गर्नैपर्छ । केही पूर्व प्रयासहरु पठन योग्य छन् । अमेरिकी मानवशास्त्री मार्क लिच्टीको शोधमा आधारित पुस्तकहरु यहाँ स्मरणाीय छ । अहिलेलाई भने केही प्रश्नः—
— ती युवती जो स्वआर्जन गर्छिन्, स्कुटी हाँक्छिन्, फेसनका लुगा लगाउँछिन् तर राम्रो वरको खोजीमा व्रत बस्छिन्, महिनावारी कठोरतापूर्वक बार्छिन्, ती आधुनिक हुन् कि होइनिन् ?
— ती युवक जो सहकर्मी महिला साथीसँग रेष्टुराँमा वाइन, बियर सेयर गर्छन, उदार महिला मन पर्ने गफ दिन्छन् तर ‘संस्कारी’ ‘श्रीमती’को खोजीमा छन्, ती आधुनिक हुन् कि होइनन् ?
गरगहना विहिन तीज
यसपाली ‘गरगहना विहिन तीज’को चर्चा पनि उत्तिकै चल्यो । एकातर्फ सुनको अचाक्ली मूल्य बढ्नु र अर्कोतर्फ ‘गरगहना विहिन तीज’को चर्चा चल्नु काकतालीमात्र होइन होला । ‘गरगहना विहिन तीज’को लागि सामाजिक सञ्जालमा आह्वान गरियो । गरगहना विहिन महिलाहरुको तस्वीर राखेर सामाजिक सञ्जालमा प्रशंसा गरियो । समाचार र लेख पनि लेखियो ।
मितव्ययिता, सुन वा गरगहनाप्रतिको न्युन आकर्षणको अर्थमा मलाई यो ‘गरगहना विहिन तीज’ सह्राहनीय लाग्यो । तर, प्रश्न भने उठि नै हाल्छ । प्रश्न यस अर्थमा पनि, के हामीले सादगीको परिभाषा गरगहना विहिनतामा खुम्चाइरहेका छौ ? यदि कसैले गरगहना विहिन महिलाको प्रशंसीत तस्वीरमा साडी कति मूल्यको भन्ने प्रश्न उठायो भने वा उनी सवार हुने साधनको मुल्य सोध्यो भने ? त्यस्तै महिलाको सादगीको खोजी गर्ने पुरुष मित्रको तस्वीर टाँसेर कुनै महिला मित्रले सामाजिक सञ्जालमा ‘फलानो क्या सरल छन् । उनी साधारण पाइन्ट र सर्टमा मात्र देखापर्छन्’ भन्ने आशयको क्याप्सन लेख्यो भने ?
मितव्ययिता, बचत, उत्पादनशील क्षेत्रमा लगानीका कोणबाट ‘गरगहना विहिन पर्व’ स्वागतयोग्य छ । तर यसकै आधारमा निष्कर्षमा पुगिहाल्नु हतार हुन्छ कि ! अर्कोतर्फ गहना, पोषाक वा साधन नै मुल्यांकनको सर्वथोक होइन । उसो त कृष्णप्रसाद भट्टराईको लोटा, सुरही र टिनको बाकस देखेकै हो । सेवा त उनले प्रधानमन्त्री हुँदा पूँजीपति धनाड्यकै गरेका हुन् । तर यसो भन्दैमा पुष्पकमल दाहालको ‘विस्तृत शान्ति सम्झौता’मा हस्ताक्षर गर्ने पच्चीस हजारको कलम बिर्सन भने सकिँदैन ।
अर्कोतर्फ यसले हामी सामाजिक घटनाक्रमहरुको लामो शृंखलाको आधारमा नभई तत्कालिन घटनाको भरमा निष्कर्षमा पुग्छौ भन्ने प्रमाणित गर्दछ ।
स–साना चोटहरुले नदुख्ने शायद गोर्खाली छाती हो यो । शायद यहीं सन्तोषीपनले होला यहाँ नयाँ–नयाँ शासकहरुको अभ्युदय हुन्छ ।
भावुक, लघु स्मृति र सन्तोषी
नेपाली समाज भावुक छ भनेर केही दिन अघि समाजशास्त्री चैतन्य मिश्र बताउँदै थिए । ‘नेपालको राजनीतिक दपर्ण’को भूमिकामा पूर्णबहादुर एमएले ‘जनताको स्मृति छोटो हुन्छ’ भनेर लेखेका छन् ।
पछिल्ला घटनाक्रमहरुले नेपाली समाजको यो चरित्रलाई थप पुष्टि गर्छ । घटनाक्रमहरुको लामो शृंखलाको आधारमा नभई तत्कालिन घटनाहरुको आधारमा नेपाली समाजको एउटा ठूलो तप्काले रवि लामिछानेप्रति एउटा मान्यता निर्माण ग¥यो । यसको पछाडि अन्यमनस्यक सत्ता, निर्मला काण्डले पर्दाफास गरेको दण्डहिनता, राजनीतिक दलहरुप्रतिको अरुचिले भूमिका खेल्यो । उसो त बलेको आगोमा रोटी सेक्नेको कमी हुँदैन । नेपाली समाजका षड्यन्त्रको दन्त्यकथा कति छिटो निर्माण हुँदोरहेछ र त्यसले बजार पाउँदोरहेछ भन्ने फेरि एकपटक पुष्टि भयो । जसरी हृतिक रोशन काण्डमा भएको थियो ।
तर, समाजको यहीं तप्काले आजको कति महिनामा रवि लामिछानेलाई विस्मृतिको गर्तमा धकेल्ने होला ? आखिर नेपाली समाजको स्मृति छोटो नै छ । हुँदैनन्थ्यो भने, केही महिना अघि धिक्कारेकोलाई जयजयकार गर्न र जयजयकार गरेकोलाई धिक्कार्न यति छिट्टै कसरी तयार हुन्छ ?
जसरी रवि लामिछानेको लागि नेपाली युवाहरु सडकमा ओर्लिए त्यसरी नै दैनिक जीवनको प्रश्नमा किन बोल्दैनन् ? महंगीले नेपाली जनताको ढाड सेकेको छ । हरेक युवा दैनिक यो परिस्थितिसँग ठोक्किन्छ तर किन कोही बोल्दैन ? करको महाआतंक उस्तै छ । कर जनता र राज्यको करारनामा हो । जनताले कर तिर्छ त्यसबापत राज्यले अभिभावकत्व र सामाजिक सुरक्षा प्रदान गर्छ । करको आतंकमा बाँचिरहेको नेपाली जनताले राज्यलाई किन आफ्नो करको प्रतिफल के हो भनेर सोध्दैन ? शायद यहाँ नेपाली समाजको अर्को चरित्र झल्किन्छ । त्यो हो नेपाल समाज निकै सन्तोषी छ ।
स–साना चोटहरुले नदुख्ने शायद गोर्खाली छाती हो यो । शायद यहीं सन्तोषीपनले होला यहाँ नयाँ–नयाँ शासकहरुको अभ्युदय हुन्छ । कहिले राणाको घोडा कुद्छ । कहिले महेन्द्रको कालो चश्मा टल्किन्छ । कहिले गिरिजाको संसदीय तानाशाही जयजयकारको मलामीमा टुंगिन्छ । कहिले ज्ञानेन्द्रको ‘बुझे ! बुझे !’ पनि प्रिय नै सुनिन्छ । भने अहिले दुई अध्यक्षको शासन, निरीह प्रतिपक्ष पनि शोभायमान नै देखिन्छ । उसो त हरेक शुक्रबार सन्तोषी माताको व्रत बस्नेहरुको कमी नभएको देश हो यो ।
नेपाली समाज भावुक, लघुस्मृति र सन्तोषीको ठाउँमा तार्किक, चीरस्मृति र विद्रोही कहिले बन्छ ?
(२०७६ भदाै २७ गते शनिबार लुम्बिनी दैनिककाे साहित्यिक परिशिष्टांकमा प्रकाशित)
Comments
Post a Comment