अश्वत्थामा
पोर्चुगेलीहरू पहिलोपटक व्यापार गर्न आएको केलिकटको व्यापार झल्काउने तस्विर । स्रोतः इन्टरनेट |
डा. भट्टराइले युरोपेली प्रवेश पहिलाको इतिहास नपढ्नु बेग्लै प्रसंग । तथापि उत्पादन, व्यापार र पूँजीको चक्र पश्चिममा भन्दा पूर्वमा पहिल्यै शुरू भएको थियो । अहिलेजस्तो प्रकृतिको दोहन गर्ने विकासको आचरण अनुरूप नहुनु बेग्लै प्रसंग ।
२८ जेठ २०७५ काठमाडौंमा आयोजित ‘समृद्धिका आधार र प्रतिवद्धता नयाँ नेपालका लागि संकल्प’ विषयक कार्यक्रममा डा. बाबुराम भट्टराईले भने भनेर सञ्चारमाध्यममा जे छापियो र भिडियो जुन प्रसारण गरियो, त्यसैमा आधारित टिप्पणी ।
डा. भट्टराई भन्छन्ः ‘विकास र समृद्धि भनेको संस्कृति पनि हो। विचार र आचरणलाई संस्कृतिमा विकास गर्न सकिएन भने आर्थिक विकास गर्न सक्दैनौं हाम्रो धर्म र संस्कृतिले विकास गर्न सक्दैन।’
- मसला र जवाहरात खरिद गर्न आएका थिए पोर्चुगालीहरू अहिले दक्षिण भारतमा पर्ने केलिकटमा । जबकि त्यो भन्दा सयौं वर्ष पहिलादेखि नै अरब देशदेखि पूर्वी एसियासम्मै व्यापार सम्बन्ध जोडिएको थियो । फारसी सभ्यता त व्यापारसँगै जोडिन्छ । भारतीय उपमहाद्विपमा मात्र होइन, नेपाल मण्डलमा पनि त्यो व्यापार शृंखला जोडिएको थियो । पालुंगो अरबदेखि नेपालहुँदै चीन त्यत्तिकै पुगेको होइन । भक्तपुरमा उँट झ्याल र मयुर झ्याल त्यसै बनेको होइन । कोलम्बस अमेरिका पुग्नुअघि नै भक्तपुरमा गोल्डेन गेट यत्तिकै बनेको पनि होइन । चाणक्यको अर्थशास्त्रमा नेपालको ऊनको चर्चा पनि यत्तिकै गरिएको होइन । व्यापारले उत्पादनको उपल्लो स्तर जनाउँछ । स्थानीय स्रोत, साधन र पर्यावरणमा आधारित उत्पादनमा दक्षिण एसियाली देशहरू पश्चिमाहरू जहाज लिएर समुद्रमा निस्कनुअघि नै अगाडि थिए भन्ने प्रमाण हुन् प्राचीन व्यापार सम्बन्धका नालीबेली ।
- नापतौल, तुलो तराजुमात्र होइन ज्यामितिका सिद्धान्त र अंकको आविष्कार हिन्द-अरब सभ्यताले नै गरेको हो । के यो कुनै सभ्यता वा संस्कृति थिएन ?
- धान खेती पूर्वीय सभ्यतासँग जोडिन्छ । धान खेतीसँगै सामूहिकता आउँछ । त्यसै अनुरूप सामाजिक संगठनहरू बनेका छन् वर्षौंदेखि । सायद मध्यपहाडी भेगको बासिन्दा भएकाले डा. भट्टराईले थाहा पाउनुभएन । नभए, तराईका जाति खासगरी थारू जातिमा त मुखिया, चौकिदार जस्ता पद यसैगरी नै बनेका छन् । त्यसो त कुलो लगाउने, फाँटमा दाँइ हाल्ने, पर्म जाने, अँधिया लगायतका धान उत्पादनसँग जोडिएका कृषिजन्य परम्परा धान खेतीसँगै जोडिन्छन् । त्यहीँबाट शुरू भएको हो धानपूजाको चलन । आर्यमा रहेको धानको सम्मान गर्ने दशैं संस्कृति र दशैं मान्दैनौं भन्ने किराँतमा रहेको धान नाचसम्म धानपूजा पुगेको छ । संस्कृति नै हो पूर्वको जीवनदायी हरेकको पूजा गर्ने अग्निदेखि अन्नसम्म ।
- दोस्रो विश्वयुद्धलगत्तै ट्रुम्यानले प्रयोग नगर्दासम्म ‘विकास’ राजनीतिक डिस्कोर्समा थिएन । त्यो स्थापित गराइयो मूलतः अमेरिकी साम्राज्यवादको प्रसार र कम्युनिष्ट विचार रोक्नका लागि । मार्शल प्लानको अन्तर्यमा पनि त्यही विकास लुकेको थियो । त्यसैले फराकिला सडक, बिजुलीबत्ती र चरम उपभोक्तावाद विकासको पर्याय बन्यो । विकास शब्द नभए पनि पूर्वीय सभ्यता अविकसित थिएन । डा. भट्टराइले युरोपेली प्रवेश पहिलाको इतिहास नपढ्नु बेग्लै प्रसंग । तथापि उत्पादन, व्यापार र पूँजीको चक्र पश्चिममा भन्दा पूर्वमा पहिल्यै शुरू भएको थियो । अहिलेजस्तो प्रकृतिको दोहन गर्ने विकासको आचरण अनुरूप नहुनु बेग्लै प्रसंग ।
- विकास र समृद्धि संस्कृति पनि हो । तर, त्यो उपभोक्तावादी संस्कृति नै हुनुपर्छ भन्नु पूँजीवादको निरन्तरताको कामना हो । उपभोक्तावाद बाहिरको विकासको परिकल्पना कम्तिमा डा. भट्टराईसँग छैन ।
डा. भट्टराई भन्छन्ः ‘यो जन्ममा दुःख गर अर्को जन्ममा सुख पाउँछौँ भन्ने हाम्रो संस्कृति छ। यो संस्कृतिले हामीलाई यही जन्ममा विकास र समृद्धि हासिल गर्न सक्दैनौँ भन्ने शिक्षा दिन्छ ।’
- परमेश्वरपुत्र यिशु पनि मृत्युपछि फर्केर आउँछन् बाइबलमा । त्यसलाई पुनर्जन्म भन्दैनन् उनीहरू ।
- किंग आर्थर राज्य विस्तारको क्रममा जाँदा भेट्छन् केही पादरी आम जनतालाई तहखानामा थुनेर मृत्यु पर्खिरहेछन् । कारण थाहा पाउँछन्, त्यसरी मरे स्वर्ग पुगिन्छ । त्यहाँ पृथ्वीमा भन्दा बढी सेवा, सुविधा पाइन्छ ।
अर्थात्, पुर्वजन्म र पुनर्जन्मको परिकल्पना पूर्वको मात्र होइन, हिन्दूको मात्र पनि होइन, पश्चिम र इसाइको पनि उत्तिकै हो ।
- डा. भट्टराईले जे भने, त्यो मूलतः वेबरको ठम्याईमा आधारित हो । प्रोटेस्टेन्ट इथिक्सका कारण पश्चिममा पूँजीवादको विकास भएको र त्यो नै विकास हो भन्ने ठम्याइ छ उनको । पूँजीवादको विकासमा मार्टिन लुथर किंग (सिनियर)ले शुरू गरेको अर्थोडक्स र क्याथोलिक चर्च विरूद्धको आन्दोलनको भूमिका वेबरको पनि आफ्नै मौलिक होइन । ‘सोसियलिज्मः आइडियलिस्ट एन्ड साइन्टिफिक’मा फ्रेडरिक एंगेल्सले पहिल्यै व्याख्या गरिसकेका थिए । यद्यपि पूँजीवादका विरोधी थिए एंगेल्स ।
- त्यसैले पूर्वजन्म र पुनर्जन्मको मान्यताकै कारण पूर्वीय देशको विकास हुन सकेन भन्ने पनि पूर्ण सही होइन । विकास भनेकै पूँजीवाद हो भन्ने मान्यता राख्दाको हदसम्म पनि त्यो धारणा गलत हो ।
- इसाई हुनु नै विकासको आधार हो भन्ने मान्यताको आधारभूमिमात्र हो वेबरीयन तर्क । सायद त्यसैको निरन्तरता हो, हन्टिङटनको ‘द क्ल्यास अफ सिभिलाइजेसन’ । तर, पूर्वीय चिन्तन सभ्यताको द्वन्द्वमा होइन सम्मिलनमा विश्वास गर्छ । त्यसैले नै वेदमा द्रविड भाषा परेको छ । नागकन्या, गन्धर्व र अप्सरा आर्य राजाको सभामा हुन्छन् । हिमालयकी छोरी र किराँत शिवबीच बिहे हुन्छ । नेपाल मण्डलका धिमे बाजामा तिब्बतियन शैलीले सिङ टाँसिन्छ, नृत्यमा भरतनाट्यमको प्रतिविम्ब हुन्छ, दाफा भजनमा अवधी र मिथिलाको गन्ध आउँछ ।
डा. भट्टराई भन्छन्ः चार्वाक सम्झनु।
- चार्वाक दर्शन लोकायत दर्शन हो अर्थात् पूर्वीय लोकले जन्माएको भौतिकवादी दर्शन । अध्यात्मवादीले त्यो दर्शनको खिल्ली उडाउन जुन श्लोक बनाए त्यही दोहोर्याएर चार्वार्कको महिमा गाउँछन् । सुन्दा अप्ठेरो होइन लज्जाबोध हुन्छ । सभ्यताको विश्लेषण गर्न् टक्रिएपछि अध्ययन गर्न् किन कञ्जुस्याँई जबकि बजारमा छन् देवीप्रसाद चट्टोपध्याय, पिवि काँणे लगायतका किताब ।
डा. भटटराई भन्छन्ः पूँजीवाद र साम्यवादको पिँजराभित्र बसेर विकास हुँदैन ।
- उनले जुन विकास भनेका छन् त्यो पूँजीवाद हो । पिञ्जराबाट पहिला उनी आफै निस्किउन् । छ हिम्मत ?
Comments
Post a Comment