राजा त्रिभुवनको सम्बोधनमा कसरी पर्यो ‘गणतन्त्र’ ?


लक्ष्मण श्रेष्ठ



सन् १९५० को सेप्टेम्बर २६-२७ मा भारतको मुजफ्फरपुर र रौतहट जिल्लाको साँधमा पर्ने बैरगनियाँ भन्ने ठाउँमा सम्पन्न तत्कालीन नेपाली राष्ट्रिय काँग्रेसको एक सम्मेलनले नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय गर्यो । क्रान्तिको लागि सम्पूर्ण अधिकार मातृका प्रसाद कोइरालालाई नेताको रूपमा चयन गरियो । त्यसै बीच २००७ साल कार्तिक २१ गते तत्कालीन राजा श्री ५ त्रिभुवन विर विक्रम शाह सपरिवार भारतीय दूतावासमा शरण लिन पुगे । श्री ३ मोहनशमशेरको नेतृत्वमा रहेको  तत्कालिन राणा सरकारले त्रिभुवनलाई गद्दीच्युत गरी दरबारमै छुटेका त्रिभुवनका माहिला नाति ज्ञानेन्द्र शाहलाई २००७ साल कार्तिक २३ गते राज्याभिषेक गरे । तर, नेपाली क्रान्तिको बाटो रोकिएन । २००७ साल कार्तिक २६ गते भाइटिकाको दिन भारतीय हवाइ सेनाको दुई डकोटा चढी राजा त्रिभुवन दिल्ली गए । सोही दिनबाट नेपाली काँग्रेसले देशव्यापी सशस्त्र संघर्ष सुरू गर्यो ।

हेर्नुहोस् २००७ सालको क्रान्तिमा भारतको दिल्ली पुगेका राजा त्रिभुवनलाई स्वागत गरिएको भिडियो

यिनै पृष्ठभूमीमा दिल्ली सम्झौता भयो । दिल्लीमा राजा, राणा र काँग्रेसबीच सम्झौता भयो । त्रिपक्षीय सम्झौता भने पनि खासमा त्यो भारतको सक्रियतामा गरिएको सम्झौता थियो । विश्वेश्वरप्रसाद कोइरालाका अनुसार उक्त सम्झौताका लागि कहिल्यै पनि एउटै टेबलमा तीनै पक्ष बसेर वार्ता भएन । दिल्ली सम्झौता लिखित सम्झौता पनि थिएन ।

दिल्ली सम्झौतापछि २००७ साल फागुन ३ गते नेपाली काँग्रेसका नेताहरू दिल्लीबाट जहाजमा काठमाडौं आइपुगे । त्यसको अर्को दिन राजा त्रिभुवन काठमाडौं ओर्लिए । २००७ साल फागुन ७ गते उनले गरेको सम्बोधनसँगै नेपालमा १०४ वर्षे जहानियाँ राणा शासन अन्त्यो भयो र देश प्रजातन्त्रमा गयो । तर, राजा त्रिभुवनको सो सम्बोधनमा भने प्रजातन्त्र शब्दको उल्लेख छैन ।  उक्त सम्बोधनमा ‘यो हाम्रो प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको, एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले’भन्ने उल्लेख छ ।
हेर्नुहोस्ः दिल्ली सम्झौतापछि राजा त्रिभुवन काठमाडौं फर्किँदै गरेको भिडियो

कसरी त्रिभुवनको सम्बोधनमा गणतन्त्र शब्द पर्न गयो ? त्यसबारे जान्नुभन्दा पहिला उक्त घोषणा हेरौं ।


२००७ साल फागुन ७ गते राजा त्रिभुवनको घोषणाः


आगे हाम्रा मुलुकको भाइभारदार, सन्तमहन्त, रैतीदुनियाँ, साहूमहाजन गैह्र के यथोचितः–

उप्रान्त संवत् १९०३ साल त्यस समयमा यस राज्यको गद्दीमा राज भएका हाम्रा स्वर्गीय पूज्य पिताज्यू श्री ५ महाराजाधिराज सुरेन्द्र वीर विक्रम शाहदेवले धेरै गम्भीर महत्त्वपूर्ण कारणले आफू र आफ्ना उत्तराधिकारीहरुका तर्फबाट यो मुलुकको शासन भार श्री ३ महाराज जंगबहादुरलाई सुम्पिबक्सेको हुनाले, 

उपरोक्त श्री ३ महाराजा जंगबहादुर राणाका उत्तराधिकारीहरुले हाम्रा पूर्वजहरुको तर्फबाट मौसुफहरुका प्राइममिनिष्टरहरुको हैसियतमा यो राज्यको शासन चलाई आएकोले, 

औ वर्तमान समयमा श्री ३ महाराज मोहनशमशेर जंगबहादुर राणाले हाम्रोतर्फबाट औ हाम्रो नाममा यो राज्यको शासन चलाई आएको हो,

यो हाम्रो प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको, एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले,

औ सो विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्यसम्पादन गर्नमा मद्दत र सल्लाह दिनको निमित्त दुनियाँको विश्वास भएका दुनियाँका प्रतिनिधिहरुसमेत सम्मिलित भएको एक मन्त्रिमण्डलको संगठन होस् भन्ने 
हाम्रो इच्छा र निर्णय भएकोले,

तसर्थ हामीबाट एक मन्त्रिमण्डल गठन र नियुक्त गरिबक्सेका छौं ।

माथि उल्लेख गरिएका मानिसहरु हाम्रो इच्छा अनुसार आफ्नो ओहदामा रहने छन् औ संयुक्तरुपमा हाम्रो जिम्मेदार रहने छन् ... सबै समाचार पनि उनले हामीहरुलाई जाहेर गर्ने उनको कर्तव्य हुनेछ ।

(स्रोतः त्यस बखतको नेपाल । भाग–४ । सरदार भीमबहादुर पाँडे । संस्करणः चौथो । २०७१ । प्रकाशकः लेखक स्वयम् ।)

आखिर प्रजातन्त्रको घोषणा गर्ने सो सम्बोधनमा कसरी गणतन्त्र पर्यो ? नेपाली काँग्रेसका तत्कालीन नेता विश्वेश्वरप्रसाद कोइरालाले नेपाली अनुवाद गर्ने क्रममा गल्तिवश त्यस्तो हुन पुगेको जनाएका छन् । उनले यस्तो स्वीकारोक्ति व्यक्त गरेका छन् ः


शाही घोषणापछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री मोहनशमशेर राणा (बाँया) र गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला (दायाँ)सँग राजा त्रिभुवन बीचमा । तस्विरः एजेन्सी 

विपीको स्वीकारोक्ति 


दिल्लीबाट हामीहरू त्यही साधारण समझदारीका साथ नेपाल आयौं कि राजाले एउटा शाही घोषणा दिन्छन्, एउटा सरकार बन्छ— दुई समूहको संयुक्त सरकार । समूह-व्यवस्था के समझदारी थियो भने एउटा समूहले राजिनामा दियो भने अर्को समूह पनि स्वतः हट्छ ।

अनि को को मन्त्री हुन्छन्, त्यो पनि तय भएको थियो, मौखिक रूपमा तय भएको थियो । कहीँ कुनै कुरा लिखित रूपमा भएको मलाई लाग्दैन, कमसेकम मलाई त्यसको ज्ञान छैन । र, मलाई यो पनि थाहा छैन कि राजाको मातहतमा दुइटै पार्टी बसेर छलफल गरोस्, यो कुरा ऊ गरोस्, तयो पनि भएन । अब पर्दाभित्र, मेरो पछिल्तिर के भयो मलाई थाहा छैन, के समझदारी कायम भयो, त्यो मलाई थाहा छैन । यद्यपि म प्रमुख मानिस थिएँ, आफ्नो ग्रुपको म नेता थिएँ, त्यस्तो कुनै कुरा भएको मलाई थाहा छैन । तर, मोटामोटी त्यो कसरी भयो भने राजाले एउटा घोषणा गर्ने फर्केर गएपछि, एउटा सरकार बन्ने र सरकारमा यी यी मान्छेहरू यो यो हुन्छन् भन्ने ।

त्यसपछि हामी आयौँ । हामी दिल्लीबाट पटना आयौं । पटनाबाट दुईवटा प्लेन गरेर हामी काठमाण्डू पुग्यौं । एयरपोर्टमा अत्यन्त ठूलो भीड पहिले हामी काठमाण्डूको गौचर एयरपोर्टमा पुग्यौं । एयरपोर्टमा अत्यन्त ठूलो भीड थियो जनताको । त्यत्रो भीड त काठमाण्डूमा कहिले भएन होला । मोहनशमशेरहरू सबै राणाहरू, राजालाई स्वागत गर्न भनेर पुगेका थिए । त्यहीं मोहनशमशेरसँग मेरो देखादेख भयो ।

राजा आए, राजा आएपछि एउटा असाधारण उत्साहो लहर फैलियो । तर, हाम्रो संगठनको एउटा नमूना के थियो भने त्यहाँ उत्र्यौँ, तर उत्रेपछि अब हामी कहाँ बस्ने, त्यसको इन्तजाम छैन । मेरो त्यहाँ घर छैन । हामीहरू कसैको घर त्यहाँ छैन ।

राजा आफ्नो दरबारतिर गइसकेपछि अब हामीहरू पनि आफ्नो बाटो लाग्नुपर्यो भन्दा कता जाने ? जाने ठाउँ छैन । अनि मैले भनेँ, "मेरो एउटा नातेदार छन् गोविन्द कोइराला, म त्यहीं बस्छु ।" सुशिलाहरू पनि सब आएका थिए । सुवर्णजीको ज्वाइँ, बहिनी दिएको, जसको छोरा थीरबम मल्ल थिए, तिनको घर कमलपोखरीमा थियो । त्यहीं हामी सबै भीड गरेर २/३ दिन बस्यौं ।

अब यहाँ समस्या थियो शाही घोषणाको । महाराजाधिराजको घोषणाको मस्यौदा अलिकति त दिल्लीबाट नै भएर आएको थियो, हामीले पनि अलिकति हेरेका थियौं । अब त्यसलाई नेपालीमा उल्था गर्नुपर्ने थियो । अंग्रेजी मस्यौदा त पहिले नै तयार भइसकेको थियो ।

हाम्रो केबिनेट सेक्रेटरी गुञ्जमान थिए । त्यसमा डेमोक्रेसीको अनुवाद गर्दा कसैले के  भन्यो, कसैले के भन्यो । मैले लोकतन्त्र भन्न खोजेको थिएँ । लोक मैले बिर्सें, गणतन्त्र मैले भनें । सबैले ठीक छ भने र त्यस घोषणामा डेमोक्रेसीको अनुवाद गणतन्त्र हुनगयो । त्यो गणतन्त्र भनेको रिपब्लिक भनेको होइन । त्यहाँ एउटा कुरा फेरि भनिएको छ, जब यी दुई भनाइ बाझिए भने अंग्रेजी भनाइ कायम रहने छ भनेर पास भएको छ ।

(स्रोतः विश्वेश्वरप्रसाद कोइराला । आत्मवृत्तान्त । संकलनः गणेशराज शर्मा । जगदम्बा प्रकाशन, काठमाडौं । दोस्रो संस्करणः २०५५ । पेज नं. १४२-१४३ ।) 


टिप्पणी 

यो प्रसंगबाट थाहा हुन्छ, राजा त्रिभुवनले गर्ने घोषणा पहिले नै तयार थियो, त्यो पनि अँग्रेजीमा । उक्त घोषणा दिल्लीमा भारतीयहरूको सक्रियतामै तयार गरिएकाले अँग्रेजीमा लेखिएको थियो । यो प्रसंगले २००७ सालको क्रान्तिमा भारतीय भूमिका कुन हदसम्मको रहेछ भन्ने बताउँछ । यद्यपि यो सानो टिप्पणीमा सात सालको क्रान्तिमा भारतीय भूमिका, नेपालका लागि तत्कालीन भारतिय राजदूत  सिपिएन सिन्हाको उपस्थिति आदिबारे चर्चा गरिएको छैन । 

Comments

  1. नेपाली काँग्रेसलाई राणा शासन हटाउन नेपालमा स्थापित गरिएको रहेछ । त्यो पनि भारतद्वारा

    ReplyDelete

Post a Comment