वर्षको अन्तिम तिर— “बाँच्ने प्रयत्न गरौं”
बढ्दो विश्व शक्ति सङ्घर्षमा सिमान्तका साना देशहरू सँधै दोस्रो विश्वयुद्धमा टुक्राइएको ‘पोल्याण्ड’ वा चेकोस्लाभाकियाको ‘सुडेटुनल्याण्ड’को क्रुर सम्भावनामा पनि रहन्छन् । अर्कोतर्फ युद्धको विभिषिकाबीच पनि स्वीट्जरल्याण्ड बन्ने सम्भावना पनि रहन्छ ।
![]() |
| रामचन्द्र श्रेष्ठ |
२०८१को अन्तिम तिर आइपुग्दा गणतन्त्रले आफ्नो औचित्य पुष्टि गर्नुपर्ने अवस्था आएको छ । गणतन्त्र माथि प्रश्नहरू खडा भएका छन् । यो दिन एक्कासी आएको होइन ।
संसारका हरेक क्रान्तिहरूसँगसँगै प्रतिक्रान्तिका सम्भावनाहरू पनि उत्तिकै हुन्छन् । त्यसैले क्रान्तिलाई कुनै एक आन्दोलन वा एक दिनको सत्ता परिवर्तन भन्दा पनि निरन्तर प्रक्रियाको रुपमा बुझिन्छ । क्रान्तिले पुरानो सत्तामा हालीमुहाली गरेकाहरूको ‘स्वर्ग’ खोसेका हुन्छ, त्यसैले ती सधैं पुराना दिनहरूको ‘सुख’को गीत गुन्गुनाइरहन्छन् । तर, त्यो सुख तिनीहरूको नितान्त व्यक्तिगत हुन्छ । त्यस्तै पुरानो सत्ताको सामाजिक सत्ता पनि उत्तिकै बलियो हुन्छ । उक्त सामाजिक सत्ताको बलमा पुरानो सत्ता फर्काउने प्रयत्न सधैं रहन्छ । त्यसैले क्रान्तिले हरेक दिन नयाँ सम्भावना, नयाँ क्षितिज र नयाँ बिहानीतर्फ लम्काइरहन सक्नुपर्छ । क्रान्तिले आफुलाई पुष्टि गरिरहनुपर्छ ।
माओवादी सशस्त्र सङ्घर्ष, प्रतिगमन विरुद्धको आन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनको अनेक उथलपुथलबाट नेपालले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, गणतन्त्र, समावेशी सिद्धान्तलाई अङ्गिकार गर्यो । जसरी संसारका हरेक परिवर्तनहरू पूर्णतया ‘चोखो’ हुँदैनन् त्यसैगरी यी आन्दोलनहरू पनि स्वार्थ, हिंसा, भूराजनीतिक चलखेलबाट मुक्त थिएनन् । तथापी २०६३ देखि २०७२ सम्मको लामो सङ्क्रमणकालपछि नेपालले नयाँ संविधान जारी गर्यो, त्यो पनि देशको एउटा पक्षको असहमति र छिमेकीको अघोषित नाकाबन्दीसँगै । सङ्क्रमणको लामो अवधि, भूकम्पको निर्मम प्रहार र नाकाबन्दीले नेपाली जनता थाकिसकेका थिए । संविधान घोषणाले एउटा अवसर र आशा सञ्चार गरेको थियो । २०७४ को निर्वाचनसँगै संविधान संस्थागत गर्ने शृंखला शुरु भयो । यो क्षण चुनौती र अवसरको थियो । परिवर्तनको नेतृत्व गरेका राजनीतिक दलहरूसँग समयले स्वर्णीम अवसर प्रदान गरेको थियो । त्यसमाथि देशका ठूला भनिने वामपन्थी दलहरू एकै ठाउँमा आएका थिए र संसदमा दुई तिहाई बहुमत थियो । नेपाली राजनीतिक अस्थिरताको अनवरत चक्रमा यो नविनतम घटना थियो । तर, यी सबै अवसरहरू उपयोग हुन सकेनन् । फलस्वरुपः समाज निराशाको थप ओरालो यात्रा झरिरह्यो ।
क्रान्ति निरन्तर प्रक्रिया हो । २०६३ पछिको यो लामो अवधिमा राजनीतिक दलहरूले परिवर्तनलाई विकसित गर्ने, सामाजिकीकरण गर्ने र सांस्कृतिक परिवर्तनको चरणमा जाने कष्ट साध्य यात्रा गर्नै चाहेनन् । आज पुनरुत्थानवादीप्रति फर्केर धारे हात लगाउनुपूर्व धेरैपटक आफ्नै छातीमाथि हात राखेर प्रश्न गर्न जरुरी छ ।
स्नातक अध्ययनरत विद्यार्थीहरूसँग धर्मनिरपेक्षताबारे चर्चा गर्दा उनीहरूले आफ्नो बुझाई राखे— धर्मनिरपेक्षता भनेको धर्म सजिलै परिवर्तन गर्न पाउनु हो । हाम्रो समाजमा धर्मनिरपेक्षताबारे यो कमजोर बुझाई किन भयो ? किनभने राजनीतिक दलहरूले धर्मनिरपेक्षताको दार्शनिक अवधारणालाई सामाजिकीकरण गर्ने कुनै कोशिस गरेनन् । धर्मनिरपेक्षता भनेको राज्यको धर्म नहुने र धर्म व्यक्तिगत स्वतन्त्रताको विषय हुनु हो भन्ने समाजमा स्थापित हुन सकेन । उल्टो राजनीतिक दलहरूले सत्ता अभ्यासका क्रममा धार्मिक पक्षधरतालाई औधी स्थान दिए । विद्यालय, सार्वजनिक पुस्तकालय, कला, साहित्य, संगीतमा राज्यको भूमिका बढाउनुको साटो मन्दिर, मस्जिद, गुम्बा र चर्चमा खर्च गरिए । दार्शनिक, वैज्ञानिक, अनुसन्धातालाई प्राथमिकता दिनुको साटो ‘बाबा’ र ‘यज्ञ’हरूले स्थान पाए । संघदेखि स्थानीय सरकारसम्मका बजेटहरू पल्टाउने हो भने धर्मको नाममा भएका लगानी र ज्ञानको क्षेत्रमा गरिएको लगानीको तुलना लाजलाग्दो छ । राज्यले धार्मिक संस्थालाई मानवीय कार्यको लागि उत्प्रेरित गर्नुपर्ने थियो । ‘धर्मनिरपेक्षता’लाई धर्म परिवर्तनको ‘तुच्छ’ व्याख्या गर्ने पुनरुत्थानवादीहरूलाई सरल प्रश्न छ, ‘विदेश’का चर्चहरूले ‘मानवीय सेवा’को लागि कोष खडा गरेर संसारभर मानवीय कार्य गरिरहँदा हाम्रा मन्दिरहरूले के गरे ? पशुपतिनाथमा उठ्ने भेटीले ‘अति सस्तो’ क्यान्सर अस्पताल सञ्चालन गरेर अनुपम नमुना सिर्जना गरे हुन्न ? त्यो भन्दा ठूलो ‘धर्म’ संसारमा अरु केही होला ?
राजनीति ओरालो लागेपछि समाजमा हरेक संस्थाहरू ओरालो लाग्दा रहेछन् । राजनीतिक दलहरूलाई प्रश्न गर्नुपर्ने, आलोचना गर्नुपर्ने संस्थाहरूले राजनीतिक दलहरूभन्दा झनै तीव्र गतिमा ओरालो यात्रा लाग्न थाले । जुनसुकै समाजको बौद्धिक जमातले नेतृत्वलाई सँधै प्रश्न गरिरहनुपर्छ यस अर्थमा कि नेतृत्वलाई आफ्ना हरेक कदममा विचार गर्नुपर्नेहोस् । नेतृत्वका तर्कहिन, आधारहिन र अवैज्ञानिक तथ्यहरूलाई पनि बौद्धिक जमातले घण्टौ सुनेर बसिरह्यो । केही लेखनदासहरूले महिमामण्डन गरिरहे । परिणाम नयाँ पुस्ताको सचेत पंक्तीले यी ‘फ्यालेसी’प्रति घृणाभाव राख्यो । सामाजिक सञ्जालमार्फत् त्यो घृणा समाजमा छताछुल्ल भयो । समाजमा आइपुग्दा सचेत ‘आलोचना’ पनि कतिपय अवस्थामा ‘गाली’ बनिदिन्छ । स्वार्थ समूहले त्यसलाई आफु अनुकुल प्रयोग गरिदिन्छ ।
समाज ओरालो लागेको अर्को उदाहरण हो— शैक्षिक संस्थाहरू । विज्ञान अध्यापन गर्ने शैक्षिक संस्थाहरूले आफ्ना कार्यक्रमहरू होटलहरूमा गर्न थाले र तिनका प्रमुख अतिथि बजारमा चलेका कलाकारहरू र तथाकथित ‘उत्प्रेरक वक्ताहरू’ हुन थाले । तिनले देशकै ख्यातिप्राप्त वैज्ञानिकहरू निम्ताएर नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्न सक्थे । तर, यो समाजशास्त्री इमाइल दुर्खाइमको भाषामा ‘एनोमी’को अवस्था हो । दुर्खाइमका अनुसारे समाजमा मूल्यहरू ओरालो लागेको अवस्था नै एनोमी हो । यो अवस्थामा व्यक्ति र समाजको दुरी बढ्दै जान्छ । सामाजिक ऐक्यबद्धता कमजोर हुन्छ । मान्छे एक्लो हुँदै जान्छ । आज हामीले नेपाली समाजमा निराशामात्र देखिरहेका छौ किनभने हामी एनोमीको अवस्थामा छौ । हामी मूल्यहरू ओरालो लागेको अवस्थामा छौ । मूल्यहरूको विघटन हाम्रो मुख्य समस्या हो ।
समाजलाई राजनीतिले नै डोहोर्याउने हो । राजनीतिलाई दर्शनले आधार प्रदान गर्ने हो । दर्शनले विचारधाराको निर्माण गर्छ । राजनीतिक दलका तत्कालीन कार्यक्रमहरु विचारधारामा आधारित हुन्छन् । तर, राजनीतिक दलहरू दर्शन विहिन हुन थाले । राजकीय सत्तालाई समाज परिवर्तनमा कसरी प्रयोग गर्ने हो, विकासका सैद्धान्तिक अवधारणा के हुन्, जनताका जीवनशैलीलाई उठाउने उपायहरू के हुन् जस्ता विषयमा राजनीतिक दलहरूमा घनीभूत छलफल हुनुपर्ने हो । दलहरूको निष्कर्ष र कार्यक्रमहरू राजनीतिक दलका जनप्रतिनिधिहरूले अभ्यास गर्ने हो । जनप्रतिनिधिलाई सुझाव र मूल्याङ्कन गर्ने दलीय संरचना हुनुपर्ने हो । तर, राजनीतिक दलहरू चुनावी टिकट बेच्ने अखडामा रुपान्तरण भए । समाज परिवर्तनको उद्देश्यले दलमा जीवन समर्पण गरेको कार्यकर्ता निराशाको सुस्केरा फेरिरहेछ, सत्ताको भाग खान आएको चैते नेताको आसेपासे बनेर अट्टहास गरिरहेछ । यो नै सबैभन्दा क्रुरतम दृश्य हो र यो नै सबैभन्दा भयानक प्रतिगमन हो ।
२०८१को अन्त्यतिर आइपुग्दा हामी दुई विपरीत दर्शनको ‘झण्डा बोक्ने’ दलहरूको संयुक्त शासन अनुभव गरिरहेछौ । उसो त सत्ताको अङ्कगणितका अगाडि न त ‘प्रतिगामी’ न त ‘बुर्जुवा’, न त ‘साम्यवादी’ रहन्छ । अङ्कगणित गंगाजल हो जसले हरेक वादका ‘पाप’हरू पखालिदिन्छ ।
२०८१को अन्त्यतिर आइपुग्दा पुनरुत्थानवादीको बढ्दो साहस, अर्थतन्त्रको ओरालो तथ्याङ्क, विश्व जगत्मा नयाँ त्रास र युवाहरूको तीव्र निराशा घनिभूत छ । ट्रम्पको पुनरोदय, व्यापार युद्ध र युएसएड जस्ता संस्थाहरूको अवसानले नेपालजस्तो विश्व प्रणालीको सिमान्तकृत देशमा अनेकौं ‘खतरा’हरू सिर्जना भएको छ । बढ्दो विश्व शक्ति सङ्घर्षमा सिमान्तका साना देशहरू सँधै दोस्रो विश्वयुद्धमा टुक्राइएको ‘पोल्याण्ड’ वा चेकोस्लाभाकियाको ‘सुडेटुनल्याण्ड’को क्रुर सम्भावनामा पनि रहन्छन् । अर्कोतर्फ युद्धको विभिषिकाबीच पनि स्वीट्जरल्याण्ड बन्ने सम्भावना पनि रहन्छ । यो देशको नेतृत्वको कुटनीतिक पहलकदमीमा बढी भर पर्छ ।
निराशाको घोर अँध्यारोमा पनि आशाको किरण त बाँकी नै रहन्छ । युएसएडको सहयोग नहुँदा हाम्रा सामाजिक मुद्दाहरू आफ्नो भरमा उठाउने अवसर पनि रहन्छ । विश्व बजारमा व्यापार युद्ध हुँदा हाम्रा उत्पादनहरूले बजार पाउने सम्भावना पनि हुन्छ । हरेक अप्ठ्यारोमा प्रगतिको नयाँ सम्भावना पनि हुन्छ तर त्यसलाई देख्ने ज्ञानचक्षु हामीसँग हुनुपर्छ । हामीसँग समग्र समाजलाई ‘मूल्य’तर्फ लैजाने र नयाँ सम्भावनाको खोजी गर्ने अठोट हुनुपर्छ । हाम्रा सामाजिक र राजनीतिक संस्थाहरूमा सुशासनको अभ्यास गर्ने अभियानको खाँचो छ । राजनीतिक दलहरू ‘चुनाव टिकट’ बेच्ने र ‘हस् हजुर’को कारखानाबाट ‘चिन्तन’को केन्द्र बनाइनु जरुरी छ । पुनरुत्थानवादीलाई धारे हात लगाउनुभन्दा आफ्ना प्रयत्नहरूलाई बढी जोड दिऔं । नयाँ वर्षको क्षितिज त्यति उज्यालो छैन । देश वायु र सामाजिक–राजनीतिक प्रदुषणले डम्म ठाकिएको छ । आउनुस्, श्वास फेरौं । फेरि बाँचौं । बाँच्ने प्रयत्न गरौं ।
२०८१ चैत ३० गतेकाे लुम्बिनी दैनिक पाहुरमा प्रकाशित

Comments
Post a Comment